"Global Money Week" को अवसरमा त्रिदेव क्याम्पसमा वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण सम्पन्न
12 hour(s) ago
झापा — त्रिदेव बहुमुखी क्याम्पस र नेपाल धितोपत्र बोर्ड को संयुक्त आयोजनामा ग्लोबल मनी विकको अवसर पारेर विद्यार्थीहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले एकदिने प्रशिक्षणमूलक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा बोर्डका उपनिर्देशक नारायण शर्मा ले प्रमुख सहजीकरण गर्दै क्याम्पसका शैक्षिक गतिविधिहरूको प्रशंसा गरेका थिए। उनले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा वित्तीय ज्ञान र सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे।
त्यस्तै, बोर्डका सहायक निर्देशक राजेश चेम्जोड ले धितोपत्र बजारका आधारभूत पक्षहरूबारे जानकारी गराउँदै लगानी संस्कृतिको विकासले व्यक्तिको आर्थिक सशक्तीकरणमा सकारात्मक प्रभाव पार्ने बताए। उनले सेयर बजारसम्बन्धी व्यवहारिक ज्ञानले भविष्यमा लगानीका अवसरहरू पहिचान गर्न मद्दत पुग्ने उल्लेख गरे।
क्याम्पस प्रमुख गोपीकृष्ण भट्टराई को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विभागीय प्रमुख सावित्रा दाहाल भट्टराई ले गरेकी थिइन्। क्याम्पस संचालक समिति अध्यक्ष हरिप्रसाद घिमिरे ले क्याम्पसका शैक्षिक गतिविधि तथा शैक्षिक क्यालेन्डरबारे जानकारी दिँदै यस्ता कार्यक्रमको सान्दर्भिकतामाथि प्रकाश पार्दै सहभागीहरूलाई स्वागत गरेका थिए।
कार्यक्रममा सहीद दशरथ माध्यमिक विद्यालय का प्रधानाध्यापक लेखनाथ पौडेल ले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
एक सयभन्दा बढी विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको कार्यक्रममा सहभागीहरूले सेयर बजार, लगानीका आधारभूत सिद्धान्त तथा वित्तीय व्यवस्थापनबारे ज्ञान हासिल गर्नुका साथै आफ्ना जिज्ञासाहरू समेत राखेका थिए। कार्यक्रममा क्याम्पसका सहायक क्याम्पस प्रमुख, विभागीय प्रमुख, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमले विद्यार्थीहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्नुका साथै जिम्मेवार र सचेत लगानीकर्ताको रूपमा विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
Tridev Multiple Campus