नवनिर्वाचित सांसद निशा डाँगीलाई त्रिदेव बहुमुखी क्याम्पसमा स्वागत
3 month(s) ago
झापा । Tridev Multiple Campus मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ सम्पन्न निर्वाचनमा सर्वाधिक मतसहित निर्वाचित हुनुभएकी माननीय सांसद निशा डाँगीलाई स्वागत तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। क्याम्पसमा आयोजित छोटो शुभकामना कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद घिमिरेको अध्यक्षता रहेको थियो। कार्यक्रममा क्याम्पस प्रमुख गोपीकृष्ण भट्टराईले माननीय सांसदसहित उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो। कार्यक्रमका अध्यक्ष घिमिरेले क्याम्पसले हाल सञ्चालन गरिरहेका शैक्षिक, प्राज्ञिक तथा अनुसन्धान सम्बन्धी गतिविधिहरूका साथै आगामी दिनमा अघि बढाइने योजनाबारे जानकारी गराउनुभयो। उहाँले क्याम्पसको समग्र विकासका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेको उल्लेख गर्नुभयो। सो अवसरमा माननीय सांसद डाँगीले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रमुख प्राथमिकतामा स्वास्थ्य र शिक्षा क्षेत्र रहेको बताउँदै शिक्षाको गुणस्तर अभिवृद्धि तथा अनुसन्धान गतिविधि प्रवर्द्धनका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा क्याम्पसका प्राध्यापक, कर्मचारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
Tridev Multiple Campus