त्रिदेव बहुमुखी क्याम्पसमा करसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
14 day(s) ago
मेचीनगर–१३, चाराली, झापा । त्रिदेव बहुमुखी क्याम्पसको आयोजनामा, व्यवस्थापन विभागको संयोजन तथा आन्तरिक राजस्व कार्यालय, झापाको सहयोगमा करसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम २०८३ असोज १ गते सम्पन्न भएको छ।
क्याम्पस प्रमुख गोपीकृष्ण भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष सन्तोष न्यौपानेको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा आन्तरिक राजस्व कार्यालय, झापाका कर अधिकृत दीपक खनालले सहजीकरण गर्नुभएको थियो।
कार्यक्रममा सहभागीहरूलाई करको परिचय, करको आवश्यकता र महत्व, करदाताका दायित्व, करसम्बन्धी प्रक्रिया तथा व्यवहारिक जीवनमा करको भूमिकालगायतका विषयमा जानकारी प्रदान गरिएको थियो। करसम्बन्धी विषयलाई सहज र व्यवहारिक ढङ्गबाट प्रस्तुत गर्दै कर अधिकृत खनालले सहभागीहरूका जिज्ञासाको समेत सम्बोधन गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख गोपीकृष्ण भट्टराईले विद्यार्थी तथा सरोकारवालामा करसम्बन्धी ज्ञान र सचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो। उहाँले कक्षाकोठामा प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारिक जीवनसँग जोड्न अभिमुखीकरण कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो।
त्यसैगरी, क्याम्पस सञ्चालक समितिका अध्यक्ष सन्तोष न्यौपानेले करसम्बन्धी विषयमा विद्यार्थी तथा शिक्षक–कर्मचारीलाई अद्यावधिक जानकारी प्रदान गर्न कार्यक्रम उपयोगी भएको बताउनुभयो।
व्यवस्थापन विभागको संयोजनमा सम्पन्न कार्यक्रममा क्याम्पसका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन व्यवस्थापन विभाग प्रमुख सावित्रा दाहालले गर्नुभएको थियो।
कार्यक्रमले सहभागीहरूमा करसम्बन्धी ज्ञान, सचेतना तथा व्यवहारिक बुझाइ अभिवृद्धि गर्न सहयोग पुगेको आयोजकले जनाएको छ।
Tridev Multiple Campus