धुलाबारीमा एआईसम्बन्धी एकदिने तालिम सम्पन्न
6 day(s) ago
झापा । मेचीनगर–१३, चारालीस्थित त्रिदेव बहुमुखी क्याम्पसको आयोजनामा ‘शिक्षण सिकाइमा एआईको प्रयोग: अवसर र चुनौती’ विषयक एकदिने तालिम कार्यक्रम २०८३ भाद्र ११ गते धुलाबारी माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।
कक्षा ११ र १२ का विद्यार्थीलाई लक्षित गरी आयोजित कार्यक्रममा क्याम्पस तथा विद्यालयका प्राध्यापक, शिक्षक र विद्यार्थी गरी करिब १२० जनाको सहभागिता रहेको थियो । शिक्षण–सिकाइमा कृत्रिम बौद्धिकता (Artificial Intelligence–AI) को बढ्दो प्रयोगसँगै यसको सम्भावना, व्यावहारिक उपयोग, अवसर तथा चुनौतीबारे विद्यार्थी र शिक्षकलाई जानकारी गराउने उद्देश्यले तालिम आयोजना गरिएको हो ।
कार्यक्रमका सहजकर्ता तथा विषयविज्ञ उमाकान्त खनालले शिक्षण–सिकाइ प्रक्रियालाई प्रविधिमैत्री, प्रभावकारी र सिर्जनात्मक बनाउन एआईको प्रयोग गर्ने तरिकाबारे व्यावहारिक जानकारी गराउनुभयो । उहाँले एआईको प्रयोगबाट अध्ययन, अनुसन्धान, शैक्षिक सामग्री निर्माण तथा सिकाइ सहजीकरणलाई थप प्रभावकारी बनाउन सकिने विषयमा सहभागीलाई जानकारी दिनुभयो ।
खनालले एआईको प्रयोग गर्दा सूचनाको विश्वसनीयता परीक्षण, गोपनीयता तथा डिजिटल सुरक्षामा ध्यान दिनुपर्ने बताउँदै सामाजिक सञ्जालमा व्यक्तिगत सूचना तथा संवेदनशील विवरण सार्वजनिक गर्दा अपनाउनुपर्ने सावधानीबारे समेत विद्यार्थीलाई सचेत गराउनुभयो । उहाँले प्रविधिको प्रयोग ज्ञान र सिर्जनशीलता अभिवृद्धिका लागि गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा क्याम्पस सञ्चालक समितिका अध्यक्ष सन्तोष न्यौपानेले समयसापेक्ष ज्ञान, सीप र प्रविधिसँग विद्यार्थीलाई जोड्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो । क्याम्पसले समय–समयमा आयोजना गर्दै आएका सामाजिक तथा प्रविधिमैत्री गतिविधिबाट विद्यार्थीले प्रत्यक्ष लाभ लिइरहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।
त्यस्तै, विशिष्ट अतिथि तथा विद्यालयका सहायक प्रधानाध्यापक तेजप्रसाद चौँलागाईंले त्रिदेव बहुमुखी क्याम्पसले विगतदेखि नै शैक्षिक तथा सामाजिक क्षेत्रमा रचनात्मक कार्य गर्दै आएको स्मरण गर्नुभयो । विद्यार्थीको क्षमता विकास तथा आधुनिक प्रविधिसँगको पहुँच विस्तारका लागि यस्ता कार्यक्रम उपयोगी हुने उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि क्याम्पससँग सहकार्य र सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रम क्याम्पस प्रमुख गोपीकृष्ण भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा क्याम्पस प्रमुख भट्टराईले स्वागत मन्तव्य राख्दै बदलिँदो शैक्षिक परिवेशमा प्रविधिको उचित प्रयोग आवश्यक रहेको बताउनुभयो । उहाँले विद्यार्थी तथा शिक्षकलाई समयानुकूल ज्ञान, सीप र प्रविधिसँग जोड्न क्याम्पस प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रमको सञ्चालन व्यवस्थापन विभाग प्रमुख सावित्रा दाहालले गर्नुभएको थियो । कार्यक्रममा प्रशिक्षक उमाकान्त खनाल, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का अध्यक्ष ईश्वर रिजाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै आधुनिक शिक्षामा प्रविधिको महत्त्व तथा एआईको जिम्मेवार प्रयोगका विषयमा धारणा राख्नुभएको थियो ।
त्रिदेव बहुमुखी क्याम्पसले शिक्षण–सिकाइलाई समयानुकूल, प्रविधिमैत्री र व्यवहारिक बनाउने उद्देश्यले यस्ता क्षमता विकास तथा समुदाय केन्द्रित कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ ।
Tridev Multiple Campus