Tridev Multiple Campus

त्रिदेव बहुमुखी क्याम्पसमा विदाइ तथा खेलकुद पुरस्कार वितरण कार्यक्रम सम्पन्न

7 day(s) ago

झापा, २६ साउन   त्रिदेव बहुमुखी क्याम्पस, मेचीनगर–१३, चारआलीमा त्रिदेव बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) तथा अतिरिक्त क्रियाकलाप समितिको संयुक्त आयोजनामा स्नातक तह चौथो वर्षका विद्यार्थीहरूको विदाइ, सांस्कृतिक प्रस्तुति तथा गत वर्ष सञ्चालित विभिन्न खेलकुद प्रतियोगिताका उत्कृष्ट टोलीलाई पुरस्कार तथा सम्मान वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीमा अन्तर्निहित प्रतिभाको पहिचान, प्रस्फुटन तथा प्रोत्साहन गर्नुका साथै अध्ययनसँगै अतिरिक्त क्रियाकलाप, खेलकुद र सांस्कृतिक गतिविधिमा विद्यार्थीको सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमको उद्घाटन क्याम्पस संचालक समिति अध्यक्ष सन्तोष नेउपाने ले गर्नुभएको थियो । उद्घाटनपश्चात् सल्लाहकार समिति अध्यक्ष हरिप्रसाद घिमिरेले शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यार्थीको शैक्षिक विकाससँगै सिर्जनात्मकता, नेतृत्व क्षमता, अनुशासन तथा सामाजिक उत्तरदायित्व विकासमा अतिरिक्त क्रियाकलापको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

त्यसैगरी क्याम्पस प्रमुख गोपीकृष्ण भट्टराईले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै खेलकुद, कला, संगीत तथा सांस्कृतिक गतिविधिले विद्यार्थीमा आत्मविश्वास, नेतृत्व क्षमता, सहकार्य, अनुशासन तथा प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने उल्लेख गर्नुभयो । उहाँले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि यस्ता गतिविधिलाई आगामी दिनमा अझ व्यवस्थित र प्रभावकारी रूपमा निरन्तरता दिइने बताउनुभयो ।

कार्यक्रममा स्नातक तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थी स्वेच्छा खड्काले स्वागत नृत्य प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी विद्यार्थीहरूले विभिन्न गायन तथा सांस्कृतिक प्रस्तुतिमार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । विद्यार्थीका विविध प्रतिभालाई एउटै मञ्चमा प्रस्तुत गर्ने अवसर प्राप्त हुँदा कार्यक्रम थप आकर्षक र उत्साहपूर्ण बनेको थियो ।

कार्यक्रमको अर्को महत्वपूर्ण पक्षका रूपमा अतिरिक्त क्रियाकलाप समितिद्वारा गत वर्ष सञ्चालित खेलकुद प्रतियोगिताअन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई सम्मान गरिएको थियो । फुटबल, भलिबल, क्रिकेट तथा टेबल टेनिस प्रतियोगितामा प्रथम तथा दोस्रो स्थान हासिल गर्ने उत्कृष्ट टोलीलाई प्रमाणपत्र तथा ट्रफी प्रदान गरी सम्मान गरिएको थियो । खेलकुद क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी तथा टोलीलाई सम्मान गर्दा उनीहरूमा आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्ने उत्साह र प्रेरणा थपिएको थियो । साथै कार्यक्रम सफल बनाउन विभिन्न रूपमा सहयोग गर्ने व्यक्ति तथा सहयोगीहरूलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा स्नातक तह चौथो वर्ष पूरा गरी बिदाइ हुन लागेका विद्यार्थीहरूलाई आगामी दिनहरुको उज्ज्वल भविष्यको कामना गर्दै  विदाइसमेत गरिएको थियो । अध्ययनको महत्वपूर्ण चरण पूरा गरी नयाँ शैक्षिक, व्यावसायिक तथा सामाजिक यात्रातर्फ अघि बढ्न लागेका विद्यार्थीलाई क्याम्पस परिवारले उज्ज्वल भविष्य, सफल करियर तथा समाज र राष्ट्रका लागि रचनात्मक योगदानको शुभकामना दिएको थियो ।

कार्यक्रमको सञ्चालन स्ववियु सचिव दावा तामाङले गर्नुभएको थियो भने समापन मन्तव्य स्ववियु अध्यक्ष इश्वर रिजालले गर्नुभएको थियो । उहाँले कार्यक्रम सफल बनाउन सहयोग गर्ने क्याम्पस प्रशासन, प्राध्यापक, कर्मचारी, विद्यार्थी, अतिरिक्त क्रियाकलाप समिति तथा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा विद्यार्थीको हित, प्रतिभा विकास र नेतृत्व क्षमताको अभिवृद्धिका लागि रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विदाइ, सांस्कृतिक प्रस्तुति, खेलकुद सम्मान तथा विद्यार्थी प्रतिभा प्रदर्शनलाई एउटै मञ्चमा समेटिएको उक्त कार्यक्रमले त्रिदेव बहुमुखी क्याम्पसमा अध्ययनसँगै विद्यार्थीको प्रतिभा, सिर्जनशीलता, खेलकुद, संस्कृति र नेतृत्व विकासलाई समान प्राथमिकता दिइएको सन्देश दिएको छ । विद्यार्थीको उत्साहपूर्ण सहभागितामा सम्पन्न कार्यक्रम समग्रमा प्रेरणादायी, उपलब्धिमूलक तथा स्मरणीय बनेको थियो ।