Tridev Multiple Campus

त्रिदेव बहुमुखी क्याम्पसमा निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर सम्पन्न, १५० भन्दा बढी सेवाग्राही लाभान्वित

12 month(s) ago

असार ९ । त्रिदेव बहुमुखी क्याम्पस, मेचीनगर–१३, चारालीको आयोजना तथा मेचीनगर नगरपालिका वडा नं. १३ को आर्थिक सहयोगमा एकदिने निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा १५० भन्दा बढी सेवाग्राहीले स्वास्थ्य परीक्षण तथा औषधि सेवा प्राप्त गरेका छन्।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एवं मेचीनगर नगरपालिका वडा नं. १३ का वडाध्यक्ष कृष्णराज सिग्देल ले मानव संसाधनको विकास र सक्षमताबाट मात्र समग्र समाज तथा राष्ट्रको विकास सम्भव हुने बताउनुभयो। उहाँले शिक्षासँगै स्वास्थ्य, सीप तथा व्यक्तित्व विकासलाई जोड दिने कार्यक्रमहरूको आवश्यकता औँल्याउँदै त्रिदेव बहुमुखी क्याम्पसजस्ता शैक्षिक संस्थाहरूले पाठ्यक्रमबाहेकका सिर्जनात्मक तथा समुदायमुखी कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।वडाध्यक्ष सिग्देलले मेचीनगर–१३ लाई उद्यमशीलता, उत्पादनशीलता र सामाजिक विकाससँग जोडिएको नमुना वडाका रूपमा विकास गर्ने लक्ष्य रहेको समेत बताउनुभयो। क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद घिमिरे को अध्यक्षतामा सम्पन्न कार्यक्रममा आयुर्वेद चिकित्सक राम अयोध्या शाह ले आयुर्वेद चिकित्सा पद्धतिको महत्व, यसको वैज्ञानिक आधार तथा दैनिक जीवनमा यसको उपयोगिताबारे जानकारी गराउनुभएको थियो। उहाँले शिविरमा सहभागी सेवाग्राहीहरूको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक परामर्श र औषधि वितरण गर्नुभएको थियो।

कार्यक्रममा क्याम्पस प्रमुख गोपीकृष्ण भट्टराई ले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। उहाँले शैक्षिक संस्थाले समुदायसँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। कार्यक्रममा क्याम्पस सल्लाहकार समितिका संयोजक सन्तोष नेउपाने, सल्लाहकार सदस्य शरद शिवाकोटी, क्याम्पस सञ्चालक समितिका उपाध्यक्षद्वय टेकनाथ उप्रेतीराम प्याकुरेल, सञ्चालक समितिका सदस्यहरू, लेखा सुपरिवेक्षण समितिका संयोजक मोहन अधिकारी, स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष ईश्वर रिजाल लगायत स्ववियु पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी अनेरास्ववियु त्रिदेव एकाइ अध्यक्ष कैलाश रेग्मी, नेपाल विद्यार्थी संघ त्रिदेव एकाइ सभापति मनिष विश्वकर्मा, क्याम्पसका प्राध्यापक, कर्मचारी तथा स्थानीय सेवाग्राहीहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन प्राध्यापक सावित्रा दाहाल भट्टराई ले गर्नुभएको थियो। शिविरमार्फत स्थानीय समुदायलाई सहज, निःशुल्क तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सफल भएको क्याम्पसले जनाएको छ। क्याम्पस प्रशासनले यस्ता स्वास्थ्य, शिक्षा तथा समुदाय केन्द्रित कार्यक्रमहरूलाई आगामी दिनमा समेत निरन्तरता दिँदै सामाजिक उत्तरदायित्व वहन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।