Tridev Multiple Campus

त्रिदेव बहुमुखी क्याम्पसको १८औँ क्याम्पस सभा सम्पन्न, ‘एक व्यक्ति–एक हजार’ अभियानबाट एक करोडको अक्षयकोष निर्माण गर्ने लक्ष्य

7 month(s) ago

झापा, मङ्सिर १२। त्रिदेव बहुमुखी क्याम्पस, मेचीनगर–१३, चारालीको १८औँ क्याम्पस सभा शुक्रबार विविध शैक्षिक, सम्मान तथा विकासमुखी कार्यक्रमका साथ सम्पन्न भएको छ। सभामा क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, विराटनगरका सहनियन्त्रक डा. गोविन्द गुरागाई प्रमुख अतिथि तथा नेपाल पब्लिक क्याम्पस संघ, कोशी प्रदेशका अध्यक्ष एवं सुकुना बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अर्जुनराज अधिकारी विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमको अध्यक्षता क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद घिमिरे ले गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. गुरागाईले समुदायको विश्वास, सहकार्य र समर्पणका आधारमा त्रिदेव बहुमुखी क्याम्पसले क्षेत्रीय स्तरमा विशिष्ट पहिचान स्थापित गर्न सफल भएको बताउनुभयो। उहाँले सक्षम व्यवस्थापन र प्रभावकारी प्रशासनिक नेतृत्वकै कारण क्याम्पसले उल्लेखनीय प्रगति हासिल गरेको उल्लेख गर्दै पुरस्कृत विद्यार्थी तथा प्राध्यापकहरूलाई बधाई दिनुभयो। साथै, परीक्षा सञ्चालनका लागि आवश्यक पूर्वाधारमा क्याम्पस सक्षम रहेको उल्लेख गर्दै परीक्षा केन्द्र विस्तारका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। विशेष अतिथि अर्जुनराज अधिकारीले चुनौतीपूर्ण परिस्थितिका बाबजुद क्याम्पसले हासिल गरेको उपलब्धिको प्रशंसा गर्नुभयो। उहाँले सहनियन्त्रक डा. गुरागाई सामुदायिक क्याम्पसका समस्या र आवश्यकताबारे जानकार व्यक्तित्व भएकाले आगामी दिनमा सामुदायिक क्याम्पसहरूले भोगिरहेका समस्याको समाधानमा सकारात्मक भूमिका निर्वाह हुने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा डिग्री क्याम्पस विराटनगरका पूर्व क्याम्पस प्रमुख डा. मनोज राउत ले सामुदायिक क्याम्पस सञ्चालन आफैँमा चुनौतीपूर्ण कार्य भएको उल्लेख गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षण–सिकाइ प्रक्रियामा नवप्रवर्तन आवश्यक रहेको धारणा राख्नुभयो।

सभामा क्याम्पस प्रमुख गोपीकृष्ण भट्टराई ले आर्थिक, शैक्षिक तथा प्रशासनिक प्रगति विवरणसहित आगामी योजनाहरू प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत प्रतिवेदनमा समावेश ‘एक व्यक्ति–एक हजार’ अभियानमार्फत हाल रहेको २५ लाख रुपैयाँको अक्षयकोषलाई वृद्धि गरी एक करोड रुपैयाँ पुर्‍याउने प्रस्ताव सभाबाट सर्वसम्मत रूपमा अनुमोदन गरिएको थियो।

अभियानको सुरुवात गर्दै क्याम्पसका संस्थापक उपाध्यक्ष तथा सल्लाहकार शरद शिवाकोटी ले एक हजार रुपैयाँ सहयोग प्रदान गर्नुभयो। त्यसैगरी मेची उद्योग वाणिज्य सङ्घ, धुलाबारीका उपाध्यक्ष भूमि पौडेल ले अभियानका लागि १० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभयो। सो अवसरमा क्याम्पसका प्राध्यापकहरूको अनुसन्धानमूलक लेख समेटिएको त्रिदेव जर्नल–२०२५’ को विमोचन समेत गरिएको थियो। साथै शिक्षा, समाजसेवा तथा क्याम्पस विकासमा योगदान पुर्‍याउनुभएका नारद राई, रमेश निरौला तथा तारा सेडाईलाई सम्मान गरिएको थियो। राष्ट्रिय निबन्ध लेखन प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी बी.एड. दोस्रो वर्षकी छात्रा उषा निरौलालाई ‘उत्कृष्ट विद्यार्थी’ सम्मान प्रदान गरिएको थियो। यस्तै यमुना–दाताराम स्मृति छात्रवृत्ति तथा मनप्रसाद–गोमा स्मृति छात्रवृत्ति कोष मार्फत शिक्षा तथा व्यवस्थापन संकायका उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित परीक्षामा कक्षागत रूपमा उत्कृष्ट नतिजा ल्याउने एक छात्र र एक छात्रालाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा उत्कृष्ट विद्यार्थी उषा निरौला, स्वतन्त्र विद्यार्थी युनियनका सभापति ईश्वर रिजाल, मेची उद्योग वाणिज्य सङ्घ धुलाबारीका उपाध्यक्ष भूमि पौडेल, काँकरभिट्टा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेती तथा पूर्व सञ्चालक समिति अध्यक्ष सन्तोष नेउपाने लगायतले क्याम्पसको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

सभामा संस्थापक अध्यक्ष हरिचरण बानियाँ, पूर्व सञ्चालक समिति पदाधिकारीहरू, दाताहरू, सल्लाहकारहरू, पूर्व क्याम्पस प्रमुख माधव प्याकुरेल, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, सामुदायिक तथा निजी विद्यालयका प्रधानाध्यापकहरू, सामाजिक संघ–संस्थाका प्रतिनिधिहरू, प्रहरी चौकी चारालीका इन्चार्ज पुष्प खड्का, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। क्याम्पस प्रमुखद्वारा प्रस्तुत प्रतिवेदनमा आवश्यक सुझाव तथा संशोधनसहित सभाले सर्वसम्मत रूपमा पारित गरेको थियो। कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख तेजप्रसाद खनाल तथा व्यवस्थापन विभाग प्रमुख सावित्रा दाहाल भट्टराईले संयुक्त रूपमा गर्नुभएको थियो। सभाले क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि, संस्थागत सुदृढीकरण तथा दीर्घकालीन आर्थिक स्थायित्वका लागि विभिन्न योजनाहरू कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।