Tridev Multiple Campus

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा त्रिदेव बहुमुखी क्याम्पसमा उत्प्रेरणात्मक तालिम सम्पन्न

6 month(s) ago

चारआली, झापा, मंसिर १६। लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा त्रिदेव बहुमुखी क्याम्पस, मेचीनगर–१३, चारालीमा विद्यार्थीहरूलाई लक्षित गरी उत्प्रेरणात्मक तथा सचेतनामूलक तालिम कार्यक्रम सम्पन्न भएको छ।

क्याम्पस प्रशासनको आयोजनामा तथा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को समन्वयमा आयोजित उक्त कार्यक्रममा विशेषगरी नवआगन्तुक प्रथम वर्षका विद्यार्थीहरूलाई लक्षित गरी क्याम्पसका नियम, विद्यार्थीका अधिकार, कर्तव्य तथा जिम्मेवारीका विषयमा जानकारी प्रदान गरिएको थियो।

कार्यक्रमका अध्यक्ष तथा क्याम्पस प्रमुख गोपीकृष्ण भट्टराईले विद्यार्थीहरूले क्याम्पसका नियमहरूको पालना गर्दै अनुशासित, जिम्मेवार र सिर्जनशील नागरिकका रूपमा आफूलाई विकास गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले क्याम्पसको शैक्षिक वातावरणलाई थप प्रभावकारी बनाउन विद्यार्थीहरूको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा उत्प्रेरणात्मक तालिमको सहजीकरण नेपाल जेसीजकी राष्ट्रिय उपाध्यक्ष स्वस्तिका आचार्य ले गर्नुभएको थियो। उहाँले विद्यार्थीहरूलाई आत्मविश्वास, नेतृत्व विकास, सकारात्मक सोच, व्यक्तित्व विकास तथा लैङ्गिक समानतासम्बन्धी विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो। साथै, लैङ्गिक हिंसा अन्त्यका लागि युवाहरूको भूमिका महत्वपूर्ण हुने बताउँदै सम्मानजनक र समावेशी समाज निर्माणमा विद्यार्थीहरूको सहभागिता आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागीहरूलाई स्वागत मन्तव्य स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष ईश्वर रिजाल ले गर्नुभएको थियो। कार्यक्रम सञ्चालन व्यवस्थापन विभाग प्रमुख सावित्रा दाहाल तथा स्ववियु सचिव दावा तामाङ ले संयुक्त रूपमा गर्नुभएको थियो।

विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रममा प्रथम वर्षका अधिकांश विद्यार्थीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले कार्यक्रमबाट क्याम्पस जीवन, विद्यार्थीको भूमिका तथा व्यक्तित्व विकाससम्बन्धी महत्वपूर्ण जानकारी प्राप्त भएको प्रतिक्रिया दिएका थिए।

क्याम्पस प्रशासनले यस्ता सचेतनामूलक तथा क्षमता अभिवृद्धिमूलक कार्यक्रमहरूलाई आगामी दिनमा समेत निरन्तरता दिँदै विद्यार्थीहरूको समग्र विकासमा योगदान पुर्‍याउने जनाएको छ।