Tridev Multiple Campus

त्रिदेव बहुमुखी क्याम्पसद्वारा तीनदिने अनुसन्धान विधि कार्यशाला सम्पन्न

4 day(s) ago

चारआली, झापा, जेष्ठ २५। त्रिदेव बहुमुखी क्याम्पस, मेचीनगर–१३, चारआलीले विश्वविद्यालय अनुदान आयोग (UGC) नेपालको आर्थिक सहयोग, त्रिदेव बहुमुखी क्याम्पसको आयोजना तथा अनुसन्धान व्यवस्थापन समिति (RMC) को व्यवस्थापनमा सञ्चालन गरेको तीनदिने अनुसन्धान विधि कार्यशाला कार्यक्रम (Research Methodology Workshop Program)  सफलतापूर्वक सम्पन्न गरेको छ ।

२०८३ जेष्ठ २२ गते भएको कार्यक्रमको उद्घाटन सत्रमा क्याम्पस प्रमुख गोपीकृष्ण भट्टराईको अध्यक्षता तथा नेपाल पब्लिक क्याम्पस संघ कोसी प्रदेश अध्यक्ष तथा सुकुना बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अर्जुनराज अधिकारीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विशेष अतिथिको रुपमा त्रिदेव बहुमुखी क्याम्पस संचालक समिति अध्यक्ष सन्तोष नेउपाने तथा अतिथिका रुपमा संचालक समितिका पदाधिकारीहरु लेखा समिति तथा सल्लाहकार समितिका सदस्यहरु, पूर्व क्याम्पस प्रमुख, स्ववियुका पदाधिकारीहरु, सहजकर्ता तथा  त्रिदेव बहुमुखी क्याम्पसका प्राध्यापक, कर्मचारी, स्नातकोत्तर तहका विद्यार्थी तथा झापाका विभिन्न सामुदायिक क्याम्पसका प्रतिनिधिहरूसहित ४१ जना सहभागी रहेका थिए । उक्त कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि तथा अन्य अतिथि वक्ताहरुले  प्राध्यापकहरुका लागि अनुसन्धान आवश्यक र महत्वपूर्ण रहेको कुरा व्यक्त गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो l 

कार्यक्रमको मुख्य उद्देश्य सहभागीहरूको अनुसन्धान क्षमता अभिवृद्धि गर्नु, अनुसन्धान प्रस्ताव तथा शोधपत्र लेखन सीप विकास गर्नु तथा उच्च शिक्षामा अनुसन्धान संस्कृतिलाई प्रवर्द्धन गर्नु रहेको क्याम्पसले जनाएको छ।

कार्यशालामा अनुसन्धान समस्या पहिचान, अनुसन्धान उद्देश्य तथा प्रश्न निर्माण, साहित्य समीक्षा, अनुसन्धान डिजाइन, तथ्याङ्क व्यवस्थापन, नमुना छनोट, तथ्याङ्क विश्लेषण, शैक्षिक लेखन, APA 7th संस्करण अनुसार सन्दर्भ व्यवस्थापन, Zotero प्रयोग, साहित्यिक चोरी (Plagiarism) नियन्त्रण तथा अनुसन्धानमा कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोग सम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रममा जनता बहुमुखी क्याम्पसका डा. टोलानाथ काफ्ले, मेची बहुमुखी क्याम्पसका डा. राजेन्द्र अधिकारी तथा श्री सुशील खनालले विषय विज्ञका रूपमा सहजीकरण गरेका थिए ।

कार्यक्रमले सहभागीहरूमा अनुसन्धान सम्बन्धी ज्ञान, सीप तथा आत्मविश्वास वृद्धि गर्नुका साथै अनुसन्धान तथा प्रकाशनमुखी शैक्षिक वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको क्याम्पस प्रमुख गोपीकृष्ण भट्टराईले बताउनुभयो।

२०८३ जेठ २२ देखि २४ गतेसम्म सञ्चालन भएको उक्त कार्यशाला कार्यक्रम  समापन समारोहमा बोल्दै क्याम्पस व्यवस्थापन समितिका प्रतिनिधिहरूले अनुसन्धानमूलक शिक्षालाई संस्थागत विकासको आधारका रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका थिए। सहभागीहरूले समेत कार्यशालाबाट प्राप्त ज्ञान र सीपलाई अनुसन्धान तथा प्रकाशन कार्यमा उपयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।